केही समयअघि मेरो फोनको घण्टी बज्यो। स्क्रिनमा एउटा परिचित नाम थियो— एक गर्भवती दिदी। फोन उठाउने बित्तिकै उहाँको सुस्केरा र भारी आवाजले मलाई केही भयो भन्ने आभास गरायो।
उहाँले भक्कानिँदै भन्नुभयो—
“सिस्टर… भर्खरै ultrasound रिपोर्ट हेरेँ, बच्चाको घाँटीमा नाल (Umbilical Cord) बेरिएको छ रे… मलाई त डरले कामै गर्न दिएको छैन। के मेरो बच्चालाई केही हुन्छ? के ऊ निसासिने ?”
त्यो प्रश्नमा केवल शब्द थिएनन्… त्योभित्र एक आमाको अनन्त माया, भविष्यको चिन्ता, र डरका हजारौं तस्बिरहरू लुकेका थिए।
मैले फोनको अर्को छेउबाट उहाँलाई धैर्य राख्न आग्रह गर्दै मुस्कुराएर भनेँ—
“दिदी, तपाईंले बुझ्नुपर्ने कुरा के छ भने, यो कुनै ‘गम्भीर रोग’ वा ‘दुर्घटना’ होइन। ultrasound ले जे देखायो, त्यो गर्भभित्रको एउटा प्राकृतिक अवस्था मात्र हो।तपाईंको भनाइ अनुसार तपाईंको बच्चा सुरक्षित छ।”
मैले उहाँलाई केही प्राविधिक कुराहरू सरल भाषामा बुझाएँ:
नालको स्वरूप: गर्भनाल (Umbilical cord) डोरी जस्तो कडा हुँदैन। यो जेली जस्तो पदार्थले बनेको र ‘फ्लेक्सिबल’ हुन्छ। यसले बच्चालाई अक्सिजन र पोषण दिइरहन्छ, चाहे त्यो अलिकति बेरिएको नै किन नहोस्।
स्वभाविक गतिविधि: भर्खरको अध्ययनहरूका अनुसार, ३०% भन्दा बढी स्वस्थ बच्चाहरूको जन्मको समयमा घाँटीमा नाल बेरिएको हुन्छ। यो बच्चा पेटभित्र खेल्दा, घुम्दा हुने एउटा सामान्य गतिविधि मात्र हो।
निसासिने डर: धेरैलाई लाग्छ कि यसले अक्सिजन रोक्छ। तर वास्तवमा, बच्चाले गर्भभित्र फोक्सोबाट सास फेर्दैन, उसले नालबाटै पोषण र अक्सिजन पाउँछ। त्यसैले, नाल बेरिएकै कारणले बच्चालाई केही हुने सम्भावना नगण्य हुन्छ।
मेरो सल्लाह र फलोअप
फोनमै मैले उहाँलाई केही सचेत गराउने कुराहरू सम्झाएँ:
१. सकारात्मक मानसिकता: तनावले तपाईंको शरीरमा हर्मोनल परिवर्तन ल्याउँछ, जसले बच्चालाई पनि असर गर्न सक्छ। तपाईं शान्त रहनुभयो भने बच्चा पनि शान्त हुन्छ।
२. दैनिक हलचल (Fetal Movement) मा ध्यान: यो नै सबभन्दा ठूलो जाँच हो। तपाईंले दैनिक बच्चाले गरेको लात्ती वा हलचललाई महसुस गर्नुहोस्।
३. नियमित चेकअप: रिपोर्टमा जे देखिए पनि, अस्पतालको नियमित फलोअप (ANC Check-up) र डाक्टरको सल्लाहलाई कहिल्यै नछुटाउनुहोस्। उहाँहरूले बच्चाको मुटुको धड्कन (CTG/Doppler) जाँच गरेर पूर्ण सुरक्षित छ भनी सुनिश्चित गर्नुहुन्छ।
४. खतराका संकेत (Danger Signs):
-
यदि बच्चाको हलचल दिनभरि १० पटक भन्दा कम भयो भने।
-
अचानक हलचल निकै कम वा सुस्त भयो भने।
-
पेटमा कडा पीडा वा असामान्य रक्तस्राव भयो भने।
-
यस्तो अवस्थामा ढिला नगरी तुरुन्त अस्पताल पुग्नुपर्छ।
सन्देश:
फोन राख्दा उहाँको स्वरमा धेरै परिवर्तन आइसकेको थियो। उहाँले भन्नुभयो, “सिस्टर, तपाईंको कुरा सुनेपछि अब मलाई डर हरायो, बरु अब म बच्चाको हलचलमा ध्यान दिन्छु।”
