गर्भावस्थामा महिलाको मानसिक स्वास्थ्यको ख्याल राख्नु अत्यन्त आवश्यक हुन्छ। यस समयमा परिवारको भूमिका महत्वपूर्ण हुन्छ। गर्भवती महिलाले आफूलाई आवश्यक सहयोग वा समस्या खुलेर परिवारसँग साझा गर्नुपर्छ।
कतिपय अवस्थामा श्रीमान् बाहिर हुन सक्छन्, त्यसैले परिवारका अन्य सदस्यले पनि अस्पताल जाँदा साथ दिनु उपयुक्त हुन्छ। समस्या लुकाउनु भन्दा समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ।
सुरुदेखि नै एउटै व्यक्ति साथमा रहेमा परामर्श लिन पनि सजिलो हुन्छ।
गर्भावस्था सामान्य र प्राकृतिक अवस्था हो, त्यसैले अनावश्यक चिन्ता लिनु हुँदैन। सामाजिक सञ्जालमा आएका अपुष्ट वा डर पैदा गर्ने सूचनाले तनाव बढाउन सक्छ, त्यसैले त्यस्ता कुरामा विश्वास नगर्नु राम्रो हुन्छ।
खाली समयमा पुस्तक पढ्ने, हल्का संगीत सुन्ने, आराम गर्ने र सकारात्मक सोच राख्ने बानीले आमाको मात्र होइन, गर्भमा रहेको शिशुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।